रूसमा हुदै गरेको विश्वकपमा अर्जेन्टिनी प्रशिक्षकको दबदबा

मस्को : विश्व फुटबलमा अर्जेन्टिनाको सान बेग्लै छ । टोलीको प्रदर्शनले मात्र होइन खेलाडीका कारणले पनि अर्जेन्टिनालाई फुटबलमा मन पराउने जमात विश्वभर ठूलो छ । महान् खेलाडी डिएगो म्याराडोना र वर्तमानका हिरो लियोनल मेसीको देश अर्जेन्टिना फुटबल प्रशिक्षकको कारणले पनि अहिले चर्चित बनेको छ । रुस विश्वकपमा अर्जेन्टिनाबाट मात्र सर्वाधिक पाँचजना प्रशिक्षकले विभिन्न देशको नेतृत्व गर्दैछन् ।

बिहीबारदेखि सुरु २१औं विश्वकपमा सहभागी ३२ टोलीमा अर्जेन्टिनाका पाँचजना प्रशिक्षकले विभिन्न टोलीको मुख्य प्रशिक्षक सम्हाल्ने मौका पाएका हुन् । अहिले अर्जेन्टिनी राष्ट्रय टोलीको प्रशिक्षकमा जर्ज सम्पाओली छन् ।

अहिले कोलम्बिया टोलीको मुख्य प्रशिक्षक जोसे पेकरम्यान, पेरुका मुख्य प्रशिक्षक रिकार्डो गार्सिया, इजिप्टका मुख्य प्रशिक्षक हेक्टर कुपर र साउदी अरेबियाका मुख्य प्रशिक्षक हुवाँ एन्टोनियो पिज्जी पनि अर्जेन्टिनी नागरिक हुन् ।

एउटै विश्वकपमा पाँचवटा देशलाई प्रशिक्षक उपलब्ध गराउन सक्नुलाई फुटबल विश्लेषकहरूले अर्जेन्टिनाको फुटबल संस्कृतिसँग जोडेर हेरेका छन् । ‘अर्जेन्टिना क्षमतावान् खेलाडी उत्पादन गर्नमा माहिर छ । यो देश फुटबल प्रशिक्षकको कारखाना नै हो, जसले म्याराडोना र मेसीजस्ता खेलाडी उत्पादन गरिरहेको छ ।

विश्वकप र शीर्ष स्तरका लिग फुटबललाई पनि प्रशिक्षक र खेलाडी दिएको छ । यदि विश्व सकरले केही सिक्नु छ भने, त्यो अर्जेन्टिनाबाट सिके हुन्छ,’ म्यानचेस्टर सिटीका प्रशिक्षक एवं स्पेनका पूर्वखेलाडी पेप ग्वार्डीओला भन्छन् ।

अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वखेलाडी एवं सन् १९७८ को विश्वकप जित्दाका खेलाडी मारियो केम्पस अर्जेन्टिनाका प्रशिक्षकमा क्षमता र व्यक्तित्व स्तरीय हुने धारणा व्यक्त गर्छन् । ‘मैदानमा खेलाडीलाई खेलाउने कला अर्जेन्टिनी प्रशिक्षकको जस्तो अरूमा छैन ।

उनीहरूमा जस्तोसुकै कठिन परिस्थितिमा पनि खेललाई आफ्नो पक्षमा मोड्ने क्षमता राख्छन्’, उनले भने । उनले सन् १९७८ को विश्वकपपछि अर्जेन्टिनाका राम्रा खेलाडीहरू प्रशिक्षणको बाटोमा लागेको पनि बताए । अन्य विश्लेषकले पनि अर्जेन्टिनाका प्रशिक्षकहरू कठिन अवस्थामा पनि टोलीको नतिजालाई उलटपुलट पार्ने क्षमता राख्ने हुँदा सबैको रोजाइका परेको धारणा व्यक्त गर्छन् ।